प्रेस विज्ञप्ति: क्यान इन्फोटेक २०२३: स्टार्टअप र नयाँ प्रविधिमा विशेष आकर्षण, आइतबार अन्तिम दिन ।

PDF

    ~~ प्रेस विज्ञप्ति ~~  

क्यान इन्फोटेक २०२३: स्टार्टअप र नयाँ प्रविधिमा विशेष आकर्षण, आइतबार अन्तिम दिन ।    

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा माघ २४ देखि सञ्चालन भइरहेको २८औं संस्करणको ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ इन एसोसिएसन विथ डिशहोम फाइबरनेट ’ मा स्टार्टअप, नयाँ प्रविधिमा अवलोकनकर्ताको आकर्षण बढेको छ । सूचना सञ्चार प्रविधि क्षेत्रकै सबैभन्दा ठूलो प्रदर्शनीका रूपमा स्थापित क्यान इन्फोटेक २०२३ आइतबार समापन हुँदैछ ।    

यस संस्करणमा नेपालमै विकास भएका विज्ञान तथा सूचना प्रविधिसँग सम्बन्धित उत्पादन र सेवालाई विशेष प्राथमिकताका साथ प्रदर्शनीमा राखिएको छ । साथै विभिन्न कलेजका विद्यार्थीले तयार पारेका परियोजनाहरूलाई पनि स्थान दिइएको छ । प्रदर्शनी हेर्न आउने अधिकांश अवलोनकर्ताले स्वदेशी सीप र उत्पादन सहितको प्रविधिको प्रशंसा गरेका छन् ।  

 प्रदर्शनीमा ३१ ओटा स्टार्टअप छन् । यसअन्तर्गत यार्सा टेक, ईट फिट, सजिलो मर्मत सेवा, मोनालटेक, भक्सक्रो, स्मार्ट हाजिर, बगभी, रमाइलो गेम्स, सफ्टवेयर स्टोर, क्यूरा हेल्थ, चिम्पभाइन लगायतका स्टार्टअप टिमले तयार पारेका नवीनतम उत्पादन एवं सेवामा विद्यार्थी देखि व्यवसायी र लगानीकर्ताले चासो देखाएका छन् ।    

स्टार्टअप कमिटीका संयोजक दीपेन्द्र पौडेलले क्यान इन्फोटेक स्टार्टअपका लागि एस्पोजर प्लेटफर्म बनेको बताउँदै यसबाट स्थानीय प्रतिभा र नवप्रवर्तनको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।    

यसबाहेक प्रदर्शनीमा सूचना प्रविधि क्षेत्रका विश्वस्तरीय ब्राण्ड सँगै दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक, नेटवर्क तथा सेक्युरिटी सेवा प्रदायक, डिजिटल भुक्तानी सेवा, ई–कमर्स, आईटी तालिम प्रदायक, विभिन्न क्षेत्रका लागि विकास गरिएका सफ्टवेयर तथा म्यानेजमेन्ट सिस्टम, अनलाइन लर्निङ टुल लगायत गरी १५० भन्दा भढी स्टल छन् ।    

शनिबार बिदाको दिन भएकाले ब्रान्डिङ कक्ष र डोमभित्र रहेका अधिकांश स्टल दिनभर भरिभराउ थिए । साथै क्यान इन्फोटेककै अवसर पारी कोडिङ च्यालेन्जदेखि अनलाइन गेमिङ कम्पिटिशन प्रतियोगिता सञ्चालन भइरहेको छ । यस्ता प्रतिस्पर्धामा विशेषगरी विद्यार्थीको क्रेज देख्न सकिन्छ ।    

त्यस्तै क्यान इन्फोटेकको विशेष आकर्षणको रूपमा नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठानले तयार पारेको आईसीटी मैत्री बस रहेको छ । हालसम्म ६०० भन्दा बढीले यो बसको प्रत्यक्ष अवलोकन तथा अनुभव लिएको नास्टले जनाएको छ । त्यस्तै क्यान इन्फोटेककै अवसर पारी रक्तदान कार्यक्रम समेत सञ्चालन भइरहेको छ । यस अन्तर्गत शनिबार सम्म १६३ जनाले रक्तदान गरेका छन् ।    

 अर्कोतर्फ सूचना प्रविधिमा आधारित कम्पनी एवं सेवाप्रदायकले आफ्ना उत्पादन एवं सेवामा विशेष अफर जारी राखेका छन् । यसअन्तर्गत कम्पनीहरूले वस्तु खरिद एवं बुकिङमा १० देखि ६० प्रतिशतसम्म छुट प्रदान गरेका छन् ।    

शनिबार कलेजका विद्यार्थी, युवासँगै कर्पोरेट क्षेत्रबाट उल्लेख्य मात्रामा अवलोनकर्ता आएको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदर्शनीस्थलबाटै कम्पनीले आफ्ना लागि डिलर तथा बिक्रेता छान्ने र बजार विस्तार गर्ने अवसर पाएका छन् ।    

यसैबीच प्रदर्शनीमा विशिष्ट व्यक्तिहरु पुग्ने क्रम जारी छ । शनिबार जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सीके राउत, मधेश प्रदेशसभा सदस्य चन्दन सिंह र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका सचेतक ज्ञानेन्द्र शाही लगायतका विशिष्ट अतिथिले प्रदर्शनी अवलोकन गर्नुभएको थियो ।    

त्यस्तै उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरी, नेपालको चर्चित पब्जी गेमिङ टिम डीआरएसका सदस्यहरू पनि क्यान इन्फोटेकका लागि आउनुभएको थियो । त्यस्तै नेपालस्थित फोर्टी वन क्लबका राष्ट्रिय अध्यक्ष मनोज दास र राष्ट्रिय महासचिव पंकज जालानको विशेष निमन्त्रणमा ओल्ड ट्याब्लर्स क्लबका जर्मन नागरिकहरूले क्यान इन्फोटेक प्रदर्शनी अवलोकन गर्नुभयो ।    

यसैबीच क्यान इन्फोटेकको अवसर पारी आयोजकले क्यान आईसीटी सेमिनारसमेत सञ्चालन गरिरहेको छ । यस अन्तर्गत आइतबार ‘नेपालमा इन्टरनेट इकोसिस्टम’ विषयमा दिउँसो २ देखि ४ बजेसम्म नेपाल पर्यटन बोर्डको सभाहलमा इन्टरनेट क्षेत्रका सरोकारवालाहरूबीच विशेष अन्तर्क्रिया हुने भएको छ । यस अघि विभिन्न तीन विषयमा आईसीटी सेमिनार सम्पन्न भइसकेको छ ।  

धन्यवाद ।    

चिरञ्जीवी अधिकारी  

महासचिव  

मितिः २०७९ साल माघ २८ गते    


Press Release Details

Posted on : 11th February, 2023
Posted by : Udeep Baral
Created at : 11th February, 2023

Other Press Releases

प्रेस विज्ञप्ति: नेसनल आईसीटी स्कलरसिप– २०८०...
26th August, 2023
प्रेस विज्ञप्ति: क्यान इन्फोटेक २०२३ भव्यताका साथ सम्पन्न...
12th February, 2023
प्रेस विज्ञप्ति: क्यान इन्फोटेक २०२३: स्टार्टअप र नयाँ प्रविधिमा विशेष आकर्षण, आइतबार अन्तिम दिन ।...
11th February, 2023
प्रेस विज्ञप्ति: क्यान इन्फोटेक प्रर्दशनीमा प्रविधिप्रेमीको घुँइचो ।...
10th February, 2023
~~ प्रेस विज्ञप्ति ~~ क्यान इन्फोटेक २०२३ मा प्रविधि कम्पनीहरुबीच बजारीकरणको प्रतिस्पर्धा...
9th February, 2023
प्रेस विज्ञप्ति: क्यान इन्फोटेकको दोस्रो दिन, अफर स्टलमा अवलोकनकर्ताको भीड...
8th February, 2023
प्रेस विज्ञप्ति: सूचना प्रविधिको कुम्भ मेला ‘क्यान इन्फोटेक २०२३’...
7th February, 2023
क्यान इन्फोटेक २०२३ का सन्दर्भमा क्यान महासंघ द्वारा आयोजित पत्रकार सम्मेलन...
26th January, 2023
क्यान महासंघ 'नेसनल आईसीटी स्कलरसिप– २०७९’...
10th August, 2022
~~ प्रेस विज्ञप्ति ~~ क्यान इन्फोटेकको २७ औं संस्करण २०७९ साल वैशाख ७ देखि १२ गतेसम्म हुने...
22nd February, 2022

Copyright © 2018 Federation of Computer Association Nepal (CAN Federation) | All rights reserved

Powered by Young Minds